भकुन्डे, कात्तिक १९ - आज यम पञ्चक अन्तर्गत तिहारको अन्तिम दिन
देश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीले आफ्ना दाजुभाइको सुख,
समृद्धि एवं दीर्घायुको कामनाका साथ भाइटीका लगाईदैछ ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिंदा धार्मिक विधिअनुसार
मण्डप बनाई अष्ट चिरञ्जीवीका साथै यमराज र यमुनाको पूजागरी त्यसमा
कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने मखमली, सयपत्री र दुबोको
माल लगाइदिएर लामो आयुको कामना गर्ने गर्छन् ।
यस वर्षको भाइटीकाको शुभ साइत बिहान ११ बजेर २७ मिनेटमा रहेको
नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । साइतमा टीका लगाउन
नभ्याउनेहरुले आज दिनभरी नै टीका लगाउन सक्ने छन् । साइतमा टीका लगाउन
नपाउन...ेले दिनभर टीका लगाउँदा पनि शुभ हुने
समितिले बताएको छ ।
भाइटीकाको दिन आयु समाप्त भइसकेको आफ्ना भाइलाई यमराज सहित उनका
दूतले लिन आउँदा दिदीले तेल नसुकुन्जेल र मखमलीको माला नओइलाउन्जेल
नलैजान यमराजलाई बाचा गराएपछि भाइले दीर्घजीवन पाएको पौराणिक
किंवदन्ती अनुसार आज दिदीबहिनीले दाजुभाइलाई मखमलीको माला लगाइदिने
परम्परा छ ।
आज दिदीबहिनीले आफ्ना दाजु भाइलाई सात रंगका टीका लगाई सगुन,
मिठाई, फलफुल, ओखर, कटुस र मसलाका साथै सेलरोटी खान दिने चलन छ ।
दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा
उपहार दिने गर्छन् ।
दिदीबहिनी नभएका दाजुभाइले तुलसीको डाँठले आफैं टीका लगाउने चलन छ
भने कसैकसैले धर्मदिदी बहिनीबाट पनि टीका लगाउने गर्छन् । यस्तै नेवार
समुदायले किजापूजाका नामले भाइटीका मनाउँछन् भने मैथिली र भोजपुरी
समाजमा भरद्वीतियाका नाममा भाइटीका मनाउने गरिन्छ ।