२८ वर्षकी भएँ । नेपालमा दुईवटा छोरा छन् । प्रेम विवाह गरेको
हाम्रो जोडीलाई खान-लाउन मुस्किल थिएन । घरको एक्लो छोरो अनि म एक्ली
बुहारी । सासू-ससुरा देवताजस्ता छन् । एउटी नन्द बिहे गरेर गइसकिन्,
अहिले अस्ट्रेलियामा बस्छिन् । घरको सटरमा होलसेल पसल छ, खानपिनका
सामानको । पहिले सासू-ससुरा बस्थे पसलमा, पछि हामीलाई जिम्मा लगाएका
थिए । घरखर्च चलेकै थियो, छोराहरू बोर्डिङ स्कुलमा पढ्थे ।
माइती नजिकै छ, माइतीका दाइको परिवार नर्वेमा बस्छ । माइतीका आमाबा
नर्वे घुम्न जाने वेलामा दाइले गज्जबको जुक्ति निकाले । मलाई त्यो मन
परेन । श्रीमान्लाई मन पर्यो, दाइले नि मन परेरै भनेका थिए । माइतीका
बाआमा नि खुसी भए । सबै खुसी भएको देखेपछि मैले चुपचाप 'हुन्छ' भनेर
टाउको हल्लाएँ । मेरो पासपोर्ट तयार भो । म बाआमासँग नर्वे जाने भएँ ।
नर्वेमा बाआमालाई छाडेर पोर्चुगल जने र पोर्चुगलको कार्ड बनाउने अनि
बिस्तारै दाइभाउजूजस्तै सपरिवार युरोपमै बस्ने श्रीमान्को योजना तयार
भो ।
दाइले भिसा मिलाएरै छाडे, खर्च लागेन । लागेको खर्च नि दाइले नै
व्यहोरे र सहज गराइदिए । श्रीमान् खुसी देखिन्थे, उनी खुसी भएको देखेर
म पनि मुस्कुराउने कोसिस गर्थें । युरोपमा पुगेपछि छोराहरूको भविष्य
उज्ज्वल र सुन्दर हुन्छ भनेर सम्झाउँथेँ मनलाई । छोराहरूको दैनिकी
स्कुल जानु, साँझ थाकेर फर्किनु र गृहकार्य गर्दागर्दै निदाउनु हो ।
बिचरा, उनीहरू सानै थिए, केही बुझ्दैनथे । खान्थे, सुत्थे । मैले केही
भन्नै सकिनँ । उनीहरूको भविष्य बन्छ भन्ने सुनेर मलाई वर्तमानमा
छोराहरू छाडेर जाने आँट आयो, निर्णय गरेँ ।
घर छाड्दाको अघिल्लो रात श्रीमान्को छातीमा टाँसिएर धेरै बेर रोएँ
। बिहेपछि तिजमा एक रातभन्दा बढी श्रीमान्सँग छुट्टिएकी थिइनँ,
छोराहरूविना त कुनै रात बिताएकै छैन, निदाएकै छैन । त्यो रात निदाउन
सकेनाँ हामी । युरोप जाने निर्णयले कतै गल्ती त गरिनँ भन्दै म आफैँलाई
बारम्बार प्रश्न गरिरहेँ । छोराहरूको अनुहार हेरेर आँसु थामिएनन्,
राति कहिल्यै नब्युँझिने कान्छो छोरो ब्युँझेर रुन थाल्यो । दूध
चुसाएर फकाएँ, ऊ फेरि निदायो ।
जेठो छोरो बिहान सबेरै उठ्यो मसँगै । मेरो झोला र तयारी देखेर कता
जाने मामु भन्दै प्रश्न सोध्यो । मेरो मुखबाट बोली नै निस्केन ।
हिजोसम्म खुसी देखिएका श्रीमान् रुन्चे देखिए, म जानु नै छ भनेर
सम्हालिने कोसिस गर्दै थिएँ । । मेरी सासूआमाले टीका लगाइदिइन् ।
सासू-ससुरा हाम्रो निर्णयप्रति खुसी थिएनन्, तैपनी चुपचाप थिए । मैले
श्रीमान्लाई हेरेर लामो सास फेरँ । कान्छो छोरो निदाएकै थियो, जेठो
छोरो मेरो पछि लाग्दै थियो ।
छोराको गालामा म्वाइँ खाएर भाइलाई नपिटेस् है बाबु भन्दै सम्झाएँ,
निदाएको कान्छो छोरोलाई हेर्दा आँसु थामिएनन् । ऊ ब्यँझिए रुन्छ बरु
निदाइरहोस् भन्दै बिहान ७ बजेको बस चढेर माइतीका आमाबासँगै काठमाडौं
हिडेँ । जहाज हुइँकियो । काठमाडौं हराउँदै गयो । झ्यालबाहिर निलो,
हरियो, सेतो, रङको आकाश देखियो, आँखावरिपरि छोराहरू देखिए । नर्वेको
ओस्लो झरेपछि दाजुभाउजू लिन आए । अब माइती पूरै साथमा तर शून्यता झन्
थपिँदै थियो ।
खुसी हुनुपर्ने कारण पनि थिए तर अझै दुःखी थिएँ । त्यो पहिलो रात
छोराहरू सम्झेर रोएँ, सधैँ मेरो दूध चुसेर निदाउने कान्छो छोरो कसरी
निदायो होला ? बिहान सधैँ मसँगै ब्युँझिएर उठ्ने जेठो छोरो आज बिहान
कति वेला उठ्यो होला ? सधैँ अबेर उठ्ने श्रीमान्ले घरमा कसरी काम
भ्याए होलान् ? उमेर ढल्किँदै गरेका सासू-ससुराले के खाए होलान् ?
मनले यस्तै नानाभाँती सोच्न थाल्यो, आँखाहरू ओभाएनन् । यता नर्वेमा
दाजुभाउजूको जीवनशैली र ओस्लो घुमेपछि मलाई नेपाल छाड्नुको पीडा कम
हुँदै थियो । उनीहरूको जीवनशैली हेर्दा भोलिको आफ्नो यही र यस्तै
समयको कल्पना गर्थें म । युरोपको विकास र सभ्यता देख्दा त म
हेरेकोहे¥यै भएकी थिएँ । पूर्वयोजनाअनुसार केही दिनपछि म एक्लै
पोर्चुगल आइपुगेँ । पोर्चुगलमा ६ महिनामा कार्ड बन्छ भनेर सबै यतै
ओइरिएका थिए । मलाई पनि ६ महिनामै कार्ड बनाउनु थियो, नेपाल जानु
थियो, परिवार ल्याउनु पनि थियो ।
०१४ को अन्त्यतिर पोर्चुगल ओर्लिएकी हुँ । केही आफन्त छन् यहाँ ।
सहयोग गरेकै हुन् । कोठा र काम खोज्न धेरै दुःख सहनु परेन । केही
मान्छेले एक्ली र नयाँ भन्ने थाहा पाएपछि अलि हेपे, नत्र काम,कोठा र
कमाइ चित्तबुझ्दो थियो । यहाँ मान्छेहरू १४-१५ लाख ऋण गरेर आएका
भेटिन्थे, तर म सित्तैंमा आएकी थिएँ । यहाँ मान्छेहरू ६-७ महिनासम्म
काम नपाएर बरालिएका भेटिन्थे, तर म एक हप्ता बेरोजगार बस्नु परेन
।
यहाँ मान्छेहरू महिनाभर काम गरेको कमाइले खर्च पुर्याउन धौधौ भएको
गुनासो गर्थे, तर म महिना बित्दा घरमा खर्च पठाइदिन्थँ । मेरो पहिलो
कमाइले श्रीमान्लाई आइफोन आयो । त्यतिवेला आइफोनको फाइभ एस आएको थियो
। छोराहरू भिडियोमा गफिन थाले । अत्यास मेटिएजस्तो लाग्थ्यो । कामको
थकान त्यसै हराउँथ्यो । साँझ-बिहान, राति समय मिल्नेबित्तिकै घरमा
गफिएर बस्थेँ ।
सुरुसुरुका दिनमा ६ महिनामा कार्ड हुन्छ र नेपाल आउँछु भन्दै
श्रीमान् र छोराहरूलाई धेरैपटक सम्झाएर एक्लै भक्कानिएर रुने गर्थें ।
६ महिनासम्मको दैनिकी यसरी नै बित्यो । ६ महिना सकिँदै गर्दा कार्डको
अत्तोपत्तो थिएन । बल्ल चौथो महिनाको कर तिर्दै थिएँ । कार्ड छिट्टै
बन्दैन भन्ने थाहा थियो तर दसँैमा आउँछु भनेर भन्न थालेँ, दसँ आयो र
सकियो ।
माघमा आउँछु भन्न थालेँ, माघ पनि आयो र गयो । जेठो छोराले आफ्नो
बर्थडेमा आउन भन्यो, हुन्छ भनेर सम्झाएँ । ऊ खुसी भयो तर बर्थडे पनि
आयो गयो । कान्छो छोराले पनि उसैगरी आफ्नो बर्थडे सम्झायो । उनीहरूलाई
घर फर्किने दिन ढाँटेर बताउँदा पनि म ती अनुहारहरूको खुसी देखेर
धेरैपटक मुस्कुराएकी छु तर क्षणिक ।
उनीहरूको मुहारको खुसी हेर्न मैले धेरैपटक ढाँटेकी छु । अचेल त्यही
झुटले मेरा धेरै कुरा पत्याउँदैनन् उनीहरू । ममी सधैँ झुट बोल्नुहुन्छ
भनेर जेठो छोराले प्रश्न थपिरहन्छ । म पश्चात्तापले जल्दै रुन्छु ।
यसरी पहिलो वर्ष बित्यो । यता मेरो कार्ड हुने दिन आएन, नेपाल जाने
दिन पनि आएन, छोराहरू भेट्ने दिन आएन । हरेक महिना बित्दा बैंकमा तलब
थपिन्थ्यो । आफ्नो खर्च कटाएर सधँ नेपाल पठाउँथेँ । एक दिन श्रीमान्ले
पसल बेच्ने कुरो निकाले ।
बाआमा बूढा भइसके । छोराहरू सानै छन्, हेरविचार गर्नुपर्छ । जानेर
पढ्दैनन्, खान जान्दैनन्, बिग्रन थालिसके, सानैदेखि गलत सिक्न थाले
भने बिग्रन बेर लाग्दैन । घर, पसल, बालबच्चा जताततै भ्याउन पनि गाह्रो
भो । श्रीमान्को कुरोमा सहमत जनाएँ मैले । बरु यता मैले अलि बढी दुःख
गरेरै भए पनि उनीहरू सुखी होऊन्, छोराहरू नबिग्रिऊन्, बुढा
सासू-ससुराको स्याहारसुसारमा कमी नआओस् भन्ने लाग्थ्यो ।
अनि त मैले घर सम्झेर कुनै पनि महिना बढी खर्च गरिनँ । छोराहरू डे
बोडर्स बस्थे । महिना बित्दा घरमा पैसा पुग्थ्यो, घरखर्च र छोराहरूको
बोर्डिङ खर्च यसरी नै चल्न थाल्यो । श्रीमान्ले पसल बेचिहाले ।
पसल बेचेको कुरो सासू-ससुरालाई पटक्कै मन परेको थिएन । उनीहरूले त्यही
पसलबाट जिन्दगी सुरु गरेका थिए । त्यही पसलले छोराछोरी हुर्कायो,
नातिहरू त्यही पसलमा खेल्दै, खाँदै हुर्कंदै थिए । जिन्दगीभरको कमाइ
त्यही पसल थियो ।
खुब माया गर्थे, त्यो पसलको उनीहरू । अनि किन दुःख नमानून् त ?
त्यसपछिका मेरा केही दिनका भिडियो च्याट सासू-ससुरालाई सम्झाउँदैमा
बिते । ०१६ को फेब्रुअरीमा कार्ड हुने दिन आयो । धेरै नेपालीहरू कार्ड
बन्नेबित्तिकै नेपाल जान्थे, आउँथे । मभन्दा पछि आएकाहरू पनि कार्ड
बनाएर नेपाल गइसकेका थिए बिदामा । मेरो बल्ल कार्डका लागि प्रक्रिया
पुग्यो, कार्ड पनि भयो तर कार्ड आएको थिएन । कार्ड आइपुग्नेबित्तिकै
नेपाल जाने योजना बनाएकी थिएँ ।
उता श्रीमान्को स्वभावमा दिनानुदिन परिवर्तन महसुस गर्न थालेकी
थिएँ । पछिल्ला महिनामा खर्च पुगेन भन्दै अझै बढी पैसा मागेका थिए
श्रीमान्ले । भिडियोमा थोरै गफिन्थे, रिसाउँथे, नानाभाँती शंका गर्थे
। अनलाइनमा प्रायः भेटिँदैनथे । छोराहरू साँझ-बिहान हजुरआमासँग
भेटिन्थे । गाउँतिरका साथीहरूले नानाभाँती सुनाउँथे श्रीमान्का बारेमा
।
सुरुसुरुमा त पत्यार नै लागेन, तैपनि सबथोक छाडेर घर फर्किऊँ झैँ
लाग्थ्यो, तैपनि कार्ड आइहाल्छ कि भनेर फर्किन सकिनँ । उता घरखर्च
मेरै कमाइले चल्थ्यो । फेरि दसँै आयो, गयो । माघ आयो गयो । छोराहरूको
बर्थडे पनि आयो गयो, तर कार्ड आएन । कार्ड पर्खेर बसेका धेरै नेपाली
भेटिन्थे । वकिलका अफिसमा टनाटन मान्छेहरू कार्ड कहिले आउँछ भनेर
सोध्न आएका भेटिन्थे । म त्यही छटपटीमा श्रीमान् बिग्रेको अर्को पीडा
पनि थपेर तड्पिरहेकी थिएँ ।
एक बिहान श्रीमान्ले फोन गरे । पछिल्ला दिन उनको फोन नआएको धेरै
भएको थियो । सधैँ मैले फोन गर्थें । उनको फोन आउँदा खुसी थामिएन,
हतारमा फोन उठाएँ तर त्यही खुसी नै उनीसँगको अन्तिम खुसी भयो । त्यही
खुसीले नै पूरै जिन्दगी पुग्ने पीडा थपेर ल्याइदियो । पूरै आकाश
थामिएन, किच्यो । पूरै धर्ती डगमगाए झँ भो । आफूलाई भन्दा बढी विश्वास
र माया गरेको मान्छेले धोका दियो ।
अघिल्लो साँझ उसले अर्को बिहे गरेर ल्याएको जानकारी ऊ आफैँले दियो
। म भुइँमा थचक्कै बजारिएँ । एउटी नारीको जीवनमा सौताभन्दा ठूलो पीडा
अर्को केही हुँदो रहेनछ । मलाई त्यही पीडाले घोच्न सुरु गरिहाल्यो ।
अघिल्लो महिना कार्ड आयो र म नेपाल फर्केकी छु । बूढा सासू-ससुरा मलाई
देखेर रोए । म आफूलाई सम्हालेर उनीहरूलाई सम्झाएँ । छोराहरूलाई
माइतीमा ल्याएर राखेकी छु, अब यतै बस्छन् । श्रीमान्सँग बोलचाल भएन
।
उसको अनुहारसम्म हेरिनँ मैले । भेट पनि भएन । ऊ आफ्नै संसारमा
भुलेको होला अनि म पनि छोराहरूको भविष्य बनाउने सपनाको आफ्नै संसारमा
भुल्दै छु । आखिर सपनाहरूको एउटा महल भत्किए पनि अर्को महल थपिने रहेछ
।
(बाग्लुङ, हाल : पोर्चुगल)
Date: 1/28/2018 9:05:29 अपराह्न :: Yam Thapa