कला/साहित्य

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

सपनाको एक महल

Furwan

२८ वर्षकी भएँ । नेपालमा दुईवटा छोरा छन् । प्रेम विवाह गरेको हाम्रो जोडीलाई खान-लाउन मुस्किल थिएन । घरको एक्लो छोरो अनि म एक्ली बुहारी । सासू-ससुरा देवताजस्ता छन् । एउटी नन्द बिहे गरेर गइसकिन्, अहिले अस्ट्रेलियामा बस्छिन् । घरको सटरमा होलसेल पसल छ, खानपिनका सामानको । पहिले सासू-ससुरा बस्थे पसलमा, पछि हामीलाई जिम्मा लगाएका थिए । घरखर्च चलेकै थियो, छोराहरू बोर्डिङ स्कुलमा पढ्थे ।

माइती नजिकै छ, माइतीका दाइको परिवार नर्वेमा बस्छ । माइतीका आमाबा नर्वे घुम्न जाने वेलामा दाइले गज्जबको जुक्ति निकाले । मलाई त्यो मन परेन । श्रीमान्लाई मन पर्‍यो, दाइले नि मन परेरै भनेका थिए । माइतीका बाआमा नि खुसी भए । सबै खुसी भएको देखेपछि मैले चुपचाप 'हुन्छ' भनेर टाउको हल्लाएँ । मेरो पासपोर्ट तयार भो । म बाआमासँग नर्वे जाने भएँ । नर्वेमा बाआमालाई छाडेर पोर्चुगल जने र पोर्चुगलको कार्ड बनाउने अनि बिस्तारै दाइभाउजूजस्तै सपरिवार युरोपमै बस्ने श्रीमान्को योजना तयार भो ।

दाइले भिसा मिलाएरै छाडे, खर्च लागेन । लागेको खर्च नि दाइले नै व्यहोरे र सहज गराइदिए । श्रीमान् खुसी देखिन्थे, उनी खुसी भएको देखेर म पनि मुस्कुराउने कोसिस गर्थें । युरोपमा पुगेपछि छोराहरूको भविष्य उज्ज्वल र सुन्दर हुन्छ भनेर सम्झाउँथेँ मनलाई । छोराहरूको दैनिकी स्कुल जानु, साँझ थाकेर फर्किनु र गृहकार्य गर्दागर्दै निदाउनु हो । बिचरा, उनीहरू सानै थिए, केही बुझ्दैनथे । खान्थे, सुत्थे । मैले केही भन्नै सकिनँ । उनीहरूको भविष्य बन्छ भन्ने सुनेर मलाई वर्तमानमा छोराहरू छाडेर जाने आँट आयो, निर्णय गरेँ ।

घर छाड्दाको अघिल्लो रात श्रीमान्को छातीमा टाँसिएर धेरै बेर रोएँ । बिहेपछि तिजमा एक रातभन्दा बढी श्रीमान्सँग छुट्टिएकी थिइनँ, छोराहरूविना त कुनै रात बिताएकै छैन, निदाएकै छैन । त्यो रात निदाउन सकेनाँ हामी । युरोप जाने निर्णयले कतै गल्ती त गरिनँ भन्दै म आफैँलाई बारम्बार प्रश्न गरिरहेँ । छोराहरूको अनुहार हेरेर आँसु थामिएनन्, राति कहिल्यै नब्युँझिने कान्छो छोरो ब्युँझेर रुन थाल्यो । दूध चुसाएर फकाएँ, ऊ फेरि निदायो ।

जेठो छोरो बिहान सबेरै उठ्यो मसँगै । मेरो झोला र तयारी देखेर कता जाने मामु भन्दै प्रश्न सोध्यो । मेरो मुखबाट बोली नै निस्केन । हिजोसम्म खुसी देखिएका श्रीमान् रुन्चे देखिए, म जानु नै छ भनेर सम्हालिने कोसिस गर्दै थिएँ । । मेरी सासूआमाले टीका लगाइदिइन् । सासू-ससुरा हाम्रो निर्णयप्रति खुसी थिएनन्, तैपनी चुपचाप थिए । मैले श्रीमान्लाई हेरेर लामो सास फेरँ । कान्छो छोरो निदाएकै थियो, जेठो छोरो मेरो पछि लाग्दै थियो ।

छोराको गालामा म्वाइँ खाएर भाइलाई नपिटेस् है बाबु भन्दै सम्झाएँ, निदाएको कान्छो छोरोलाई हेर्दा आँसु थामिएनन् । ऊ ब्यँझिए रुन्छ बरु निदाइरहोस् भन्दै बिहान ७ बजेको बस चढेर माइतीका आमाबासँगै काठमाडौं हिडेँ । जहाज हुइँकियो । काठमाडौं हराउँदै गयो । झ्यालबाहिर निलो, हरियो, सेतो, रङको आकाश देखियो, आँखावरिपरि छोराहरू देखिए । नर्वेको ओस्लो झरेपछि दाजुभाउजू लिन आए । अब माइती पूरै साथमा तर शून्यता झन् थपिँदै थियो ।

खुसी हुनुपर्ने कारण पनि थिए तर अझै दुःखी थिएँ । त्यो पहिलो रात छोराहरू सम्झेर रोएँ, सधैँ मेरो दूध चुसेर निदाउने कान्छो छोरो कसरी निदायो होला ? बिहान सधैँ मसँगै ब्युँझिएर उठ्ने जेठो छोरो आज बिहान कति वेला उठ्यो होला ? सधैँ अबेर उठ्ने श्रीमान्ले घरमा कसरी काम भ्याए होलान् ? उमेर ढल्किँदै गरेका सासू-ससुराले के खाए होलान् ?

मनले यस्तै नानाभाँती सोच्न थाल्यो, आँखाहरू ओभाएनन् । यता नर्वेमा दाजुभाउजूको जीवनशैली र ओस्लो घुमेपछि मलाई नेपाल छाड्नुको पीडा कम हुँदै थियो । उनीहरूको जीवनशैली हेर्दा भोलिको आफ्नो यही र यस्तै समयको कल्पना गर्थें म । युरोपको विकास र सभ्यता देख्दा त म हेरेकोहे¥यै भएकी थिएँ । पूर्वयोजनाअनुसार केही दिनपछि म एक्लै पोर्चुगल आइपुगेँ । पोर्चुगलमा ६ महिनामा कार्ड बन्छ भनेर सबै यतै ओइरिएका थिए । मलाई पनि ६ महिनामै कार्ड बनाउनु थियो, नेपाल जानु थियो, परिवार ल्याउनु पनि थियो ।

०१४ को अन्त्यतिर पोर्चुगल ओर्लिएकी हुँ । केही आफन्त छन् यहाँ । सहयोग गरेकै हुन् । कोठा र काम खोज्न धेरै दुःख सहनु परेन । केही मान्छेले एक्ली र नयाँ भन्ने थाहा पाएपछि अलि हेपे, नत्र काम,कोठा र कमाइ चित्तबुझ्दो थियो । यहाँ मान्छेहरू १४-१५ लाख ऋण गरेर आएका भेटिन्थे, तर म सित्तैंमा आएकी थिएँ । यहाँ मान्छेहरू ६-७ महिनासम्म काम नपाएर बरालिएका भेटिन्थे, तर म एक हप्ता बेरोजगार बस्नु परेन ।

यहाँ मान्छेहरू महिनाभर काम गरेको कमाइले खर्च पुर्‍याउन धौधौ भएको गुनासो गर्थे, तर म महिना बित्दा घरमा खर्च पठाइदिन्थँ । मेरो पहिलो कमाइले श्रीमान्लाई आइफोन आयो । त्यतिवेला आइफोनको फाइभ एस आएको थियो । छोराहरू भिडियोमा गफिन थाले । अत्यास मेटिएजस्तो लाग्थ्यो । कामको थकान त्यसै हराउँथ्यो । साँझ-बिहान, राति समय मिल्नेबित्तिकै घरमा गफिएर बस्थेँ ।

सुरुसुरुका दिनमा ६ महिनामा कार्ड हुन्छ र नेपाल आउँछु भन्दै श्रीमान् र छोराहरूलाई धेरैपटक सम्झाएर एक्लै भक्कानिएर रुने गर्थें । ६ महिनासम्मको दैनिकी यसरी नै बित्यो । ६ महिना सकिँदै गर्दा कार्डको अत्तोपत्तो थिएन । बल्ल चौथो महिनाको कर तिर्दै थिएँ । कार्ड छिट्टै बन्दैन भन्ने थाहा थियो तर दसँैमा आउँछु भनेर भन्न थालेँ, दसँ आयो र सकियो ।

माघमा आउँछु भन्न थालेँ, माघ पनि आयो र गयो । जेठो छोराले आफ्नो बर्थडेमा आउन भन्यो, हुन्छ भनेर सम्झाएँ । ऊ खुसी भयो तर बर्थडे पनि आयो गयो । कान्छो छोराले पनि उसैगरी आफ्नो बर्थडे सम्झायो । उनीहरूलाई घर फर्किने दिन ढाँटेर बताउँदा पनि म ती अनुहारहरूको खुसी देखेर धेरैपटक मुस्कुराएकी छु तर क्षणिक ।

उनीहरूको मुहारको खुसी हेर्न मैले धेरैपटक ढाँटेकी छु । अचेल त्यही झुटले मेरा धेरै कुरा पत्याउँदैनन् उनीहरू । ममी सधैँ झुट बोल्नुहुन्छ भनेर जेठो छोराले प्रश्न थपिरहन्छ । म पश्चात्तापले जल्दै रुन्छु । यसरी पहिलो वर्ष बित्यो । यता मेरो कार्ड हुने दिन आएन, नेपाल जाने दिन पनि आएन, छोराहरू भेट्ने दिन आएन । हरेक महिना बित्दा बैंकमा तलब थपिन्थ्यो । आफ्नो खर्च कटाएर सधँ नेपाल पठाउँथेँ । एक दिन श्रीमान्ले पसल बेच्ने कुरो निकाले ।

बाआमा बूढा भइसके । छोराहरू सानै छन्, हेरविचार गर्नुपर्छ । जानेर पढ्दैनन्, खान जान्दैनन्, बिग्रन थालिसके, सानैदेखि गलत सिक्न थाले भने बिग्रन बेर लाग्दैन । घर, पसल, बालबच्चा जताततै भ्याउन पनि गाह्रो भो । श्रीमान्को कुरोमा सहमत जनाएँ मैले । बरु यता मैले अलि बढी दुःख गरेरै भए पनि उनीहरू सुखी होऊन्, छोराहरू नबिग्रिऊन्, बुढा सासू-ससुराको स्याहारसुसारमा कमी नआओस् भन्ने लाग्थ्यो ।

अनि त मैले घर सम्झेर कुनै पनि महिना बढी खर्च गरिनँ । छोराहरू डे बोडर्स बस्थे । महिना बित्दा घरमा पैसा पुग्थ्यो, घरखर्च र छोराहरूको बोर्डिङ खर्च यसरी नै चल्न थाल्यो । श्रीमान्ले पसल बेचिहाले । पसल बेचेको कुरो सासू-ससुरालाई पटक्कै मन परेको थिएन । उनीहरूले त्यही पसलबाट जिन्दगी सुरु गरेका थिए । त्यही पसलले छोराछोरी हुर्कायो, नातिहरू त्यही पसलमा खेल्दै, खाँदै हुर्कंदै थिए । जिन्दगीभरको कमाइ त्यही पसल थियो ।

खुब माया गर्थे, त्यो पसलको उनीहरू । अनि किन दुःख नमानून् त ? त्यसपछिका मेरा केही दिनका भिडियो च्याट सासू-ससुरालाई सम्झाउँदैमा बिते । ०१६ को फेब्रुअरीमा कार्ड हुने दिन आयो । धेरै नेपालीहरू कार्ड बन्नेबित्तिकै नेपाल जान्थे, आउँथे । मभन्दा पछि आएकाहरू पनि कार्ड बनाएर नेपाल गइसकेका थिए बिदामा । मेरो बल्ल कार्डका लागि प्रक्रिया पुग्यो, कार्ड पनि भयो तर कार्ड आएको थिएन । कार्ड आइपुग्नेबित्तिकै नेपाल जाने योजना बनाएकी थिएँ ।

उता श्रीमान्को स्वभावमा दिनानुदिन परिवर्तन महसुस गर्न थालेकी थिएँ । पछिल्ला महिनामा खर्च पुगेन भन्दै अझै बढी पैसा मागेका थिए श्रीमान्ले । भिडियोमा थोरै गफिन्थे, रिसाउँथे, नानाभाँती शंका गर्थे । अनलाइनमा प्रायः भेटिँदैनथे । छोराहरू साँझ-बिहान हजुरआमासँग भेटिन्थे । गाउँतिरका साथीहरूले नानाभाँती सुनाउँथे श्रीमान्का बारेमा ।

सुरुसुरुमा त पत्यार नै लागेन, तैपनि सबथोक छाडेर घर फर्किऊँ झैँ लाग्थ्यो, तैपनि कार्ड आइहाल्छ कि भनेर फर्किन सकिनँ । उता घरखर्च मेरै कमाइले चल्थ्यो । फेरि दसँै आयो, गयो । माघ आयो गयो । छोराहरूको बर्थडे पनि आयो गयो, तर कार्ड आएन । कार्ड पर्खेर बसेका धेरै नेपाली भेटिन्थे । वकिलका अफिसमा टनाटन मान्छेहरू कार्ड कहिले आउँछ भनेर सोध्न आएका भेटिन्थे । म त्यही छटपटीमा श्रीमान् बिग्रेको अर्को पीडा पनि थपेर तड्पिरहेकी थिएँ ।

एक बिहान श्रीमान्ले फोन गरे । पछिल्ला दिन उनको फोन नआएको धेरै भएको थियो । सधैँ मैले फोन गर्थें । उनको फोन आउँदा खुसी थामिएन, हतारमा फोन उठाएँ तर त्यही खुसी नै उनीसँगको अन्तिम खुसी भयो । त्यही खुसीले नै पूरै जिन्दगी पुग्ने पीडा थपेर ल्याइदियो । पूरै आकाश थामिएन, किच्यो । पूरै धर्ती डगमगाए झँ भो । आफूलाई भन्दा बढी विश्वास र माया गरेको मान्छेले धोका दियो ।

अघिल्लो साँझ उसले अर्को बिहे गरेर ल्याएको जानकारी ऊ आफैँले दियो । म भुइँमा थचक्कै बजारिएँ । एउटी नारीको जीवनमा सौताभन्दा ठूलो पीडा अर्को केही हुँदो रहेनछ । मलाई त्यही पीडाले घोच्न सुरु गरिहाल्यो । अघिल्लो महिना कार्ड आयो र म नेपाल फर्केकी छु । बूढा सासू-ससुरा मलाई देखेर रोए । म आफूलाई सम्हालेर उनीहरूलाई सम्झाएँ । छोराहरूलाई माइतीमा ल्याएर राखेकी छु, अब यतै बस्छन् । श्रीमान्सँग बोलचाल भएन ।

उसको अनुहारसम्म हेरिनँ मैले । भेट पनि भएन । ऊ आफ्नै संसारमा भुलेको होला अनि म पनि छोराहरूको भविष्य बनाउने सपनाको आफ्नै संसारमा भुल्दै छु । आखिर सपनाहरूको एउटा महल भत्किए पनि अर्को महल थपिने रहेछ ।
(बाग्लुङ, हाल : पोर्चुगल)

Date: 1/28/2018 9:05:29 अपराह्न :writer: Yam Thapa

Powered by Disqus

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसंख्या रहेको more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप्रतिनिधिलाई सो more..

हाम्रो टिम

Yam Bahadur Thapa Magar Prem Sinjali Dipak Thapa Magar Ammar Thapa Magar Juna Thapa Magar Suraj Thapa Magar Tek Bahadur Thapa Magar Shyam Kumar Thapa Magar Durgesh Thapa Magar Mahesh Thapa Magar Technical support Darbin Pulamee

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

आयोग
लोक सेवा आयोग http://www.psc.gov.np शिक्षक शेवा आयोग http://tsc.gov.np नेपाल सरकारको आधिकारिक पोर्टल http://www.nepal.gov.np परराष्ट्र मन्त्रालय  https://www.mofa.gov.np प्रधा more..

नेपाल रेडक्रस सोसाइटी भकुन्डे उपशाखा बागलुङ
नेपाल रेडक्रस सेसार्इटी भकुण्डे उपशाखा बागलुङ क्र.स. पद नाम ठेगना सम्पर्क न. १ सभापती खिम बहादुर थापा मगर भकुन्डे ३   २ more..